साउने सङ्क्रान्ति अनि एउटा कथा

भर्खर भर्खर दुईतर्फी लभ पर्याथ्यो |
अरुबेला उ आएको परैबाट थाहा पाउने म त्यस दिन, केहि चाल पाइन |
यसै बसिरहेको बेला पछाडी बाट आएर आँखा छोपी |
छाम्दा, मेहेन्दीले गर्दा हुन सक्छ हत्केलाको स्पर्शले ठम्याउनै सकिन |
हात नाडीमा पुग्यो, चुरा छर्लङ्ग बजे, मरिगए भेउ पाइन |
परफ्युमको बासनाले यो पक्कै पनि कुनै केटी मान्छे हुनुपर्छ भनेर अन्त हात लगाउने आँट गर्न सकिन |
धेरै पटक "को हो?" , भनेर सोधे, पटक्कै साँस फ़ुत्किएन |
बरु झन् दरो तरिकाले आँखा फुट्ने गरि हातहरु कसिए |
भो अब सोध्दीन भनेर बसीराखे |
हार खाइच, खितखित हाँस्दै "कस्तो चिन्न नसकेको? यस्ताले पनि माया गर्छन?", भन्दै हात खुकुलो बनाई र छेउमै आएर बसी |
आफु भने आँखा बेसरी दबिएर होला एकछिन रिंगटा छुटे जस्तो भएर त्यहीं पल्टे |
एकछिन पछि आँखा खोले |
"किन आँखा बेस्सरी छोपेको त?", भन्ने मन थियो तर उसलाई देखेपछी बोली नै फुरेन, एकटकले हेरीरहें |
उसो त उसलाई हेर्न लाको ३ वर्ष भन्दा पनि अधिक भैसकेको थियो तर यत्तिको राम्री कहिल्यै देखेको थिएन |
पफ हेयरस्टाइल, आँखामा गाजल, कानमा 'B' अक्षरको टप, हल्का क्रिम कलरको फिक्का लिपबाम, दुवैहातका नाडीमा टम्म अटाएका हरिया र पहेंला चुरा, हत्केलामा गाढा मेहन्दी, नङ्गमा गुलाबी नेलपोलिश अनि नया पहेंलो रंगको सुट |
कुनै अप्सरा भन्दा कम थिइन, उ त्यस दिन |
"के लाटोले केरा हेर्या जस्तै, हेरेको?", भन्दै मन्त्रमुग्ध बाट ब्यूँझाई |
"साँच्चै कहाँ जानलाई यसरी तयार भकी, हँ तिमी?", बडो जिज्ञासु भएर सोधी हालें |
"हे पटमुर्ख! कहाँ जानलाई तयार हुनु र आज देखि साउन लाग्यो अनि आफ्नो राजाको सुस्वास्थ्य र दिर्घायुका लागि व्रत बस्नलाई सजिएकी नि", भन्दै उल्टै थर्काई |
"ए हो! मलाई थाहा थिएन मै'साब", भने |
साँच्चै, मलाई थाहा पनि थिएन |
यो पहिलो पटक थियो जब मैले साउने सङ्क्रान्तिको बारेमा थाहा पाएको थिएँ |
"हेर्नु न ! मेरो मेहन्दी कस्तो गाढा लागेको छ नि, है?", भन्दै म तिर हत्केला फर्काई |
खै खै! राम्रो सँग देखाउ त भनेर मैले हत्केला तल तिर फर्काएर हेरें | असाध्यै राम्रा बुट्टाहरुका बिचमा 'B' अक्षर बनाएको पनि भेटाएँ | घरमा देखे भने मार्लान नि फेरी, भने |
"उम्म...जहिलै पनि मायाप्रेमका कुरा गर्नुको सट्टा उल्टा उल्टा कुरा गर्ने यार", भन्दै पर धकेली |
मैले सम्हालिदै मेहन्दीको रंग गाढा नै बसेको बताएँ |
"थाहा छ! मेहन्दीको रंग गाढा बस्यो भने आफुलाई माया गर्ने मान्छेले धेरै माया गर्दो रहेछ भनेर बुझिन्छ, तपाईं साँच्चै मलाई धेरै माया गर्नु हुन्छ नि राजा?", उसले लाडिएर सोधी |
"किन हुनमान झैं छाती चिरेर देखाउँ र मै'साब?", मैले भने |
"यो छाती चिरेर विवाह भन्दा अगाडी नै विधुवा बनाउने मन छ र मलाई ?", प्रश्न माथि प्रतिप्रश्न गरि |
"भो कल्ले सक्छ र तिमीलाई जित्न ?", भन्दै चुप लागें |
"यो मेरी पहिलो साउने सङ्क्रान्तिको व्रत हो, अब देखि प्रत्येक वर्ष म हजुरका लागि व्रत बस्छु अनि हजुरको नामको चुरा र मेहन्दी लाउँछु", सिरियस हुँदै भनि |
"अनि सिन्दूर?", मैले फिस्किएर सोधें | "छ्या काले ! कस्तो कुरा गर्या होला, रंगमा भंग हाल्न त कसैले तपाईंबाट सिकोस्", भन्दै गालामा बेस्सरी चिमोटी |
"सिन्दूर,पोते, गहना सबै हजुरकै नामको, हस!", भन्दै गाला छोडदिई |
म उसलाई मायाले हेरी रहें |
उ नै थिइ, जसले मलाई त्यो दिन साउने सङ्क्रान्ति के हो र यसको हिन्दु परम्परामा के महत्व छ भनेर बताएकी थिइ |
उ नै थिइ, जसले मेरो नामको सिन्दूर लाउँछु भनेकी थिइ |
मलाई प्रेमको पत्र, यत्रतत्र, सर्वत्र सिकाउने मेरो 'लभ गुरु' उ नै थिइ |
उ नै थिइ, जसका लागि म चुनौती को कुनैपनि महासागर तर्न हनुमान झैं अटल थिएँ |
यो प्रसङ्गलाई आज एक दशक बढी भैसक्यो आजपनि उ व्रत बस्छे, आजपनि चुरा लाउँछे, आजपनि उ मेहन्दीले हत्केला रंगाउछे, आजपनि उ सिन्दूरले सिउँदो सजाउँछे........(बाँकी तल)
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
👇
......तर अर्कैको नामको 😭
Comments
Post a Comment